दाङ — घोराही उपमहानगरपालिका वडा नम्बर १७ की ३७ वर्षीया गीता घर्ती (नाम परिवर्तन) फूल लिएर स्वागत गर्न जानुपर्ने ठाउँमा आफ्नै श्रीमान्लाई पक्राउ गराउन प्रहरीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो। वैदेशिक रोजगारीका लागि साउदी अरब गएका उनका श्रीमान् १२ वर्षपछि स्वदेश फर्किँदै गर्दा गीताले धोकाधडी र बेइमानीको आरोपमा उनलाई पक्राउ गराउनु परेको हो।
धोकाको कथा
१२ वर्षअघि घरसल्लाह गरेरै गीताले आफ्ना श्रीमान्लाई साउदीको रियादमा गाडी चालकको काममा पठाएकी थिइन्। सुरुका दुई वर्ष श्रीमान्ले नियमित पैसा पठाउने र सम्पर्क गर्ने गरे पनि बिस्तारै पैसा पठाउन बन्द गरे र परिवारसँगको सम्पर्कबाट पनि टाढिए।
यसबीचमा श्रीमान् नेपाल आएर परिवारलाई जानकारी नै नदिई पुनः विदेश फर्किएको थाहा पाएपछि गीता छाँगाबाट खसेझैँ भइन्। "श्रीमान्ले मलाई त हेर्नुभएन, मेरो माया लागेन, ठिकै छ। तर आफ्नै नाबालक छोरीहरूको पनि कस्तो माया नलागेको होला?" गीताले भक्कानिँदै सुनाइन्।
खोजबिन र वास्तविकता समस्या बढ्दै गएपछि गीता २०७८ भदौमा जिल्ला प्रशासन कार्यालय दाङमा रहेको आप्रवासी स्रोत केन्द्र पुगिन्। सुरक्षित आप्रवासन (सामी) परियोजनाको सहयोगमा खोजबिन गर्दा उनका श्रीमान् साउदीमै काम गरिरहेको र उनले घरमा पैसा नपठाएर घोराहीकै अर्की महिलालाई पैसा पठाउने गरेको रहस्य खुल्यो। उनी नेपाल आएका बेला पनि तिनै महिलासँग बसेर फर्किएको र विदेशमा कमाएको पैसाले ती महिलाको छोराका लागि जग्गासमेत किनिदिएको थाहा पाएपछि गीताको मानसिक तनाव थपियो।
मनोविमर्शले जगाएको आत्मविश्वास श्रीमान्को बेवास्ता र छोरीहरूको भविष्यको चिन्ताले ग्रस्त गीतालाई सामी परियोजनाकी मनोपरामर्शदाता सुशीला आचार्यले मनोविमर्श सेवा प्रदान गरिन्। जिल्ला प्रहरी कार्यालयमा पहिलोपटक भेट्दा गीता निकै भावुक र कमजोर अवस्थामा थिइन्। पाँचौँ पटकको परामर्श सत्रपछि उनमा बिस्तारै आत्मविश्वास बढ्न थाल्यो। उनले दैनिक मजदुरी गरेरै भए पनि कक्षा ८ र ९ मा पढ्ने आफ्ना दुई छोरीहरूको लालनपालन गरिरहेकी छन्।
कानुनी लडाइँ र वर्तमान अवस्था विमानस्थलबाट पक्राउ परेका उनका श्रीमान् २० दिनसम्म जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहे। तर, त्यहाँ पनि उनले मौनता साधेपछि समस्या समाधान भएन। अन्ततः गीताले अदालतमा अंशबन्डाको मुद्दा हालिन्। उनका ससुराले दुई नातिनीको नाममा अंश दिने र छोराले कमाएको पैसाबाट गीतालाई घडेरी किनिदिने सम्झौता गरेपछि उनले प्रहरीको उजुरी फिर्ता लिएकी छन्।
अहिले श्रीमान् पुनः सम्पर्कविहीन छन् र ससुराले पनि अदालतको फैसलापछि मात्र सम्पत्ति दिने अडान लिएका छन्। यति हुँदाहुँदै पनि गीता अब हार्ने पक्षमा छैनन्। "श्रीमान्को साथ त पाइएन, अब कानुन अनुसार जे पाइन्छ त्यसैमा चित्त बुझाउँछु। दुई छोरीहरू साथीजस्तै छन्, उनीहरूलाई दुःख गरेर भए पनि पढाउँछु," उनले दृढताका साथ भनिन्।
मनोपरामर्शले आफूलाई एक्लो महसुस हुन छोडेको र समस्यासँग जुध्ने साहस पलाएकोमा उनी खुसी छिन्।
साभार: सुरक्षित आप्रवासन (सामी) परियोजना (सामीको सहजीकरणमार्फत परिवर्तित जीवनका कथाहरू, २०७९)