नेपालगन्ज, चैत ११ — अमेरिकी दूतावास नेपालले इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (IDI) र आद्यन्त एडभाइजरी ( Aadyanta Advisory)सँगको साझेदारीमा आज नेपालगन्जबाट राष्ट्रव्यापी उद्यमशीलता सीप विकास कार्यक्रमको सुरुवात गरेको छ। यस पहलले नेपालभरका प्रारम्भिक चरणका उद्यमीहरूलाई दिगो व्यवसाय निर्माण गर्न, लगानी आकर्षित गर्न र क्षेत्रीय तथा विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक व्यावहारिक सीपहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
लुम्बिनी प्रदेशका लागि नेपालगन्जबाट सुरु भएको यो कार्यक्रम आगामी दिनमा धनगढी, विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा र पोखरामा सञ्चालन हुनेछ। यस प्रक्रियामा सातै प्रदेशका करिब २०० उद्यमीहरूले भौतिक कार्यशाला र भर्चुअल बुटक्याम्पहरूमा सहभागिता जनाउने छन्। प्रशिक्षण सत्रहरू विशेष गरी व्यवसायका आधारभूत कुराहरू, बजार प्रमाणीकरण, लगानीकर्तासँगको सञ्चार, डिजिटल मार्केटिङ र निर्यात तयारी जस्ता विषयमा केन्द्रित रहनेछन्।
अमेरिकी दूतावास नेपालका सार्वजनिक मामिला प्रमुख माइक हार्करका अनुसार आर्थिक वृद्धि र नवीनताका लागि उद्यमीहरू अपरिहार्य छन्। "नेपाली संस्थापकहरूलाई विस्तार गर्न सकिने व्यवसाय निर्माण गर्न सहयोग गरेर यो कार्यक्रमले नेपालको निजी क्षेत्रलाई मजबुत बनाउँछ र संयुक्त राज्य अमेरिका र नेपालबीच व्यापार तथा व्यावसायिक सहयोगका लागि नयाँ अवसरहरू सिर्जना गर्दछ," हार्करले भन्नुभयो।
यो पहल 'यू.एस.–नेपाल कमर्सियल डिप्लोमेसी सिरिज' को एक हिस्सा हो, जसले उद्यमशीलता, नवीनता र निजी क्षेत्रको वृद्धिलाई प्रवर्द्धन गर्दै दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको छ। यस कार्यक्रमले संस्थापकहरूलाई मेन्टर, लगानीकर्ता र उद्योग विज्ञहरूसँग जोड्नुका साथै अमेरिकी फर्महरूसँगको साझेदारी र वृद्धिका लागि व्यवसायलाई तयार पार्न व्यावहारिक तालिम प्रदान गर्नेछ। इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यन्त एडभाइजरीले अमेरिकन चेम्बर अफ कमर्स नेपाल र ग्लोबल इम्प्याक्ट कलेक्टिभसँगको सहकार्यमा यो कार्यक्रम कार्यान्वयन गरिरहेका छन्।