काठमाडौँ, असार २ — कृषि तथा जलवायु उत्थानशीलतामा तथ्याङ्क-आधारित निर्णय प्रक्रियालाई सुदृढ बनाउने उद्देश्यले एफएओ (खाद्य तथा कृषि संगठन) नेपालले अर्थ अब्जर्भेसन र जिआईएस (GIS) प्रविधि सम्बन्धी चार दिने प्राविधिक क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालय र इसिमोड (ICIMOD) को सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो।
तालिम मुख्यगरी बाली क्षेत्रको नक्साङ्कन (crop area mapping), उत्पादन अनुमान, क्षति मूल्याङ्कन, र पशु रोग विश्लेषण जस्ता प्रमुख विषयहरूमा केन्द्रित थियो।
तालिम अवधिभर सहभागीहरूले बाली नक्साङ्कन, बाढी र खडेरीबाट हुने क्षतिको मूल्याङ्कन, र पशु रोगको हटस्पट विश्लेषण सम्बन्धी व्यावहारिक अभ्यासहरू गरेका थिए। यसका लागि गुगल अर्थ इन्जिन, क्युजिआईएस (QGIS), भूउपग्रहबाट लिइएका तस्बिरहरू (satellite imagery) र स्पेसियल रिस्क म्यापिङ जस्ता प्राविधिक उपकरण तथा विधिहरूको प्रयोग गरिएको थियो।
ज्ञान आदानप्रदान प्रवर्द्धन गर्न र प्राविधिक क्षमता बढाउन आयोजित यस कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालय, नार्क (NARC), कृषि विभाग र पशु सेवा विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।