सर्लाही — हरिवन नगरपालिका वडा नम्बर ३ की ४२ वर्षीया माया डोंग यतिबेला आफ्नै गाउँघरमा 'बिल्डिङ इलेक्ट्रिसियन' को रूपमा नयाँ पहिचान बनाउँदै हुनुहुन्छ। वैदेशिक रोजगारीको पाँच वर्ष लामो कठिन यात्रा र स्वदेश फर्केपछिको ज्याला मजदुरीलाई विश्राम दिँदै उहाँले प्राविधिक सीपमार्फत आत्मनिर्भर बन्ने बाटो रोज्नुभएको हो।
अपाङ्गता भएका श्रीमान् र छोराछोरीको पालनपोषणको पूर्ण जिम्मेवारी काँधमा आएपछि माया आर्थिक संकटमा पर्नुभएको थियो। घर सल्लाहपछि उहाँले वैदेशिक रोजगारीमा जाने निर्णय गर्नुभयो। सुरुमा आवश्यक खर्च जुटाउन ऋणको जोहो गर्दै उहाँ वैदेशिक रोजगारीका लागि कुवेत पुग्नुभएको थियो।
कुवेतमा रहँदा उहाँले करिब पाँच वर्ष 'हाउस मेड' (घरेलु कामदार) को रूपमा काम गर्नुभयो। त्यहाँ रहँदा फरक संस्कृति, सभ्यता र खानपानका कारण सुरुवाती दिनमा उहाँलाई निकै कठिनाइ भएको थियो। आर्थिक रूपमा विपन्न र विदेशी कामदार भएका कारण कतिपय अवस्थामा उहाँले अपहेलना समेत खेप्नुपरेको थियो। तर, घरको कमजोर आर्थिक अवस्थालाई सम्झिएर उहाँले ती सबै पीडा सहँदै कामलाई निरन्तरता दिनुभयो।
कुवेतको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, "आफूले केही जानेको पनि थिएन, पढेको पनि थिएन। यस्तै यस्तै कुरा मनमा खेलिरहन्थ्यो। केही नजानेका कारण धेरै समस्या महसुस गरेँ। कुनै सीप सिकेर आएको भए आफूलाई केही सहज हुने थियो भन्ने लाग्थ्यो।"
पाँच वर्षपछि नेपाल फर्किएकी मायाले सुरुमा परिवार चलाउन ज्याला मजदुरी गर्नुभयो। यसै क्रममा उहाँले वडा कार्यालयमार्फत शिक्षा मन्त्रालय र युएनडिपी (UNDP) स्किल परियोजनाले नि:शुल्क सीपमूलक तालिम प्रदान गरिरहेको जानकारी पाउनुभयो। वडामा सम्पर्क गरी फारम भरेपछि उहाँ बिल्डिङ इलेक्ट्रिसियन तालिमका लागि छनोट हुनुभएको थियो।
एक महिनासम्म सञ्चालित उक्त तालिम सफलतापूर्वक पूरा गरेपछि उहाँले सीप परीक्षण पनि उत्तीर्ण गर्नुभयो। तालिमपछि उहाँलाई सम्बन्धित निकायबाट आवश्यक प्राविधिक औजारहरू समेत उपलब्ध गराइएको छ। तालिमले आफूमा ठूलो उत्साह जगाएको उहाँ बताउनुहुन्छ।
तालिमको प्रभावकारिताका बारेमा उहाँले भन्नुभयो, "तालिमले निकै हौसला मिलेको छ। प्रशिक्षकहरूले एक महिनासम्म आफूले सोचेको भन्दा धेरै राम्रो सीप सिक्न पाएँ। निकै खुसी छु।"
मायाले अब वैदेशिक रोजगारीमा नजाने दृढ संकल्प गर्नुभएको छ। उहाँले प्राप्त गरेको सीपलाई अझ परिष्कृत बनाउँदै लैजाने योजना बनाउनुभएको छ। "अब यसै पेसामा रहेर जीविकोपार्जन गर्नेछु। देशमै काम गर्छु। विदेश नजाने सोच बनाएकी छु," उहाँले आफ्नो भविष्यको योजनाबारे भन्नुभयो।
स्तरीय सीप सिक्ने अवसर प्रदान गरेकोमा उहाँले शिक्षा मन्त्रालय र स्किल परियोजनाप्रति कृतज्ञता समेत व्यक्त गर्नुभएको छ।