याम कुमारी कंडेल
धनगढी, , पुष १५ — सानो गाउँको मुटुमै रहेको यो घरमा मानिसहरूको रोदन र चित्कारले गर्दा रमाइलो साँझ पनि विरहमा डुबिरहेको भान हुन्छ। पूरै गाउँ नै शोकमा डुबेको छ।
निलो र कालो मास्क लगाएर मानिसहरू घरबाहिर बसिरहेका छन्। उनीहरू मलिन र स्तब्ध देखिन्छन्। घरबाट आइरहेको दुर्गन्धले मानिसहरूलाई सास फेर्न कठिन भइरहेको छ। भवन वरपर डेरा जमाएर ताण्डव देखाइरहेका झिँगाका झुण्डहरूले वातावरणलाई झन् धेरै वेदनापूर्ण र निर्मम बनाइरहेका छन्।
यही घरभित्र घरमूली ललाता प्रसाद चौधरीको निर्जीव लास आफ्ना तीन छोराहरूको व्यग्र प्रतीक्षामा छ। वैदेशिक रोजगारीका लागि भारत र मलेसिया गएका उनका छोराहरूले यो शोकमग्न घरमा फर्केर आफ्ना बुवाको अन्तिम संस्कार गर्नु पर्ने छ। उनीहरू विदेशबाट घर आइपुग्न तीन दिन लाग्ने भएकाले उनको शरीरलाई डिप फ्रिज गरेर राखिएको छ।
उनीहरू जस्ता झन्डै ३५ लाख नेपालीहरू वैदेशिक रोजगारीमा छन्। यीमध्ये अधिकांश युवा उमेरका छन्। उनीहरूका आमाबुवा आफू जिउँदो हुँदा मात्र नभएर आफू मरेपछि पनि आफ्नो लासलाई घाटसम्म लैजान र दागबत्ती दिनका लागि आफ्नै सन्तानको बाटो हेरेर बसिरहेका हुन्छन्। मृतकका परिवार विदेशबाट फर्केर अन्तिम संस्कार पूरा गर्न सकून् भनेर सरकारले वैदेशिक रोजगारीमा जाने उच्च दर भएका जिल्लाका पालिकाहरूलाई लास भण्डारण गरेर राख्ने कुल १०१ वटा फ्रिजर उपलब्ध गराएको छ। सरकारी पोर्टेबल फ्रिजरमा एक दिन लास राख्दा ६०० रुपैयाँ शुल्क तिर्नु पर्छ।
केही समयसम्म त फ्रिजरको चिसोमा चौधरीको मृत शरीर ताजै रहेको थियो। तर आज तेस्रो दिनसम्म आइपुग्दा फ्रिजरले पनि लास गल्ने प्राकृतिक प्रक्रियालाई रोक्न सकेन। फ्रिजरको माथिल्लो भागमा रहेको पारदर्शी सिसाबाट लास गल्दै गएको देखिन्छ। पूरै सुन्निएको लासबाट निस्केको तरल पदार्थले फ्रिजरको पिँधको भागमा पूरै ताल परेको छ। यसले चौधरीको आत्माले शरीर छाडेर गएको मात्र नभएर काजकिरिया गर्नका लागि उनका सन्तानहरू साथमा नभएको दुःखद यथार्थ पनि चित्रण गरिरहेको छ।
ललाता चौधरीको जेठो छोरा विजय चौधरी र कान्छो छोरा सुनिल चौधरी भारतको सिमलाबाट तीन दिनको लामो यात्रा गरेर घर आइपुगे। छोराहरू आइपुग्नुअघि नै घरका बुहारी र अरूले मिलेर अन्तिम संस्कारका लागि आवश्यक तयारीहरू गरिसकेका छन्।

पोर्टेबल डिफ फ्रिजरमा राखिएको ६२ वर्षीय ललाता प्रसाद चौधरीको शव हेर्दै उनकी नातिनी र बुहारी। उनका छोराहरू दागबत्ती दिनका लागि विदेशबाट आउनु पर्ने भएकाले उनको लास तीन दिनसम्म फ्रिजरमा सुरक्षित राखिएको थियो। याम कुमारी कंडेल, जिपिजे नेपाल
यत्तिकैमा पोर्टेबल फ्रिजर फिर्ता लिन भनेर नगर प्रहरी घरमा आइपुग्यो। विजय चौधरी र सुनिल चौधरीले हातमा पन्जा लगाए र आँगनमा एउटा ठुलो प्लास्टिक ओछयाए। उनीहरूले घरभित्रबाट फ्रिजर गुँडाएर बाहिर आँगनमा ल्याए।
नेपालको हिन्दू परम्पराअनुसार मृत शरीरको अन्तिम संस्कार गर्नका लागि बाँसमा राखेर बोक्नु पर्छ। हिन्दू परम्पराअनुसार सामान्य अवस्थामा व्यक्तिको मृत्यु हुनेबित्तिकै लासलाई घाटमा लगेर जलाइने गर्छ। अन्तिम संस्कारका लागि दागबत्ती दिन छोराहरू नै चाहिन्छ। तर छोराहरू विदेशमा भएको अवस्थामा परम्परा पूर्ण रूपमा पालना गर्न कहाँ सकिन्थ्यो र!
मानवशास्त्री सुरेश ढकालका अनुसार डिप फ्रिजरहरूले सन्तानहरू विदेशबाट फर्कने समय मात्र दिने गरी लास जोगाएर राख्छन्।
उनी भन्छन्, “यो वास्तवमै प्रशंसनीय कुरा हो।”
ललाता प्रसाद चौधरीका छोराहरू भारतमा स्याउ टिप्ने सिजनल काम गर्छन्। उनीहरू घर आइपुग्दा बुवाको लास फ्रिजरमा राखेको तीन दिन भइसकेको थियो। कसैले पनि मृत शरीर छुन चाहिरहेका थिएनन्। प्रहरीले फ्रिजरबाट लास निकाल्न भनेपछि उनीहरू सबैले मिलेर फ्रिजरबाट लासलाई बाहिर निकाले र बाँसको स्ट्रेचरमा राखे। उनीहरूले लासलाई प्लास्टिकले छोपे अनि ट्रयाक्टरमा राखे। त्यसपछि छिमेकी र आफन्तजन सबै भएर अन्तिम संस्कारका लागि घाटतिर लागे।
पालिकाको रेकर्डअनुसार २०२४ देखि ४६६ परिवारले सरकारी पोर्टेबल फ्रिजर प्रयोग गरेका छन्। देशको सुदूर पश्चिम भागमा रहेको धनगडीमा आठ वटा फ्रिजर उपलब्ध छन्।

आफन्तजन र छिमेकीहरूको बिचमा निलो साडी लगाएर शोक व्यक्त गर्दै ललाता प्रसाद चौधरीकी आमा। नेपालको ग्रामीण भेगमा परिवारहरू परिवारको सदस्यको मृत्यु हुँदा वैदेशिक रोजगारमा गएका सन्तानहरू घर नफर्कुन्जेल शवलाई पोर्टेबल डिप फ्रिजरमा राख्छन्। याम कुमारी कंडेल, जिपिजे नेपाल
केही ठाउँमा भने स्थानीय सङ्गठनहरूले पनि फ्रिजर खरिद गरेका छन्। उदाहरणका लागि, लैङ्गिक समानताका लागि जनचेतना फैलाउने उद्देश्यले गल्कोट नगरपालिकामा गठन गरिएको महिला समूहले फ्रिजर खरिद गरेर स्थानीय स्वास्थ्य चौकीलाई दान गरेको थियो।
नेपालभरका र अझ खास गरी दुर्गम क्षेत्रका परिवारहरू वैदेशिक रोजगारीमा गएका आफ्ना परिवारका सदस्यहरूले पठाउने रेमिट्यान्समा निर्भर छन्। यसरी प्राप्त हुने रेमिट्यान्सले देशको कुल ग्राहस्थ उत्पादनको एक चौथाइभन्दा बढी हिस्सा ओगटेको छ। फलस्वरूप अहिले अधिकांश गाउँमा बालबालिका र वृद्धवृद्धाहरू मात्र बाँकी छन्। बागलुङ जिल्लाकी जनस्वास्थ्य निरीक्षक प्रतीक्षा लमताड केही गाउँहरू लगभग खाली नै भइसकेको बताउँछिन्।
नेपाल इन्स्टिच्युट फर सोसल एन्ड इन्भारोमेन्टल रिसर्चकी निर्देशक तथा वैदेशिक रोजगारीमा जाने श्रमिकसम्बन्धी विज्ञ अनिता घिमिरेका अनुसार नेपालमा राज्यले भन्दा बढी सन्तानहरूले नै आफ्ना आमाबुवाको जिम्मेवारी वहन गर्छन्।
घिमिरे भन्छिन्, “छोराछोरीले आफैँ निर्धारण गर्नु पर्छ कि उनका आमाबाबुलाई शारीरिक र भावनात्मक सहयोग आवश्यक छ।”
परिवारका सदस्यको अन्तिम संस्कारका लागि श्रमिकहरू घर फर्कन सकून् भनेर नेपाल र सबैभन्दा धेरै नेपाली श्रमिक रहेका देशहरू र अझ विशेष गरी खाडी मुलुकहरूका बिचमा द्विपक्षीय सम्झौताहरू हुनु पर्ने उनी बताउँछिन्।
मृतक ललाता प्रसाद चौधरीका छोराहरू विजय र सुनिल विगत १० वर्षदेखि भारतमा काम गर्दै आएका छन्। माहिला छोरा भने मलेसियामा काम गर्ने अनुमान गरिएको छ। वर्षौँदेखि उनको कुनै खबर आएको छैन।

पिता ललाता प्रसाद चौधरीको अन्तिम संस्कारका लागि भारतको सिम्लाबाट फर्कदै ३९ वर्षीय विजय चौधरी (बायाँ) र ३६ वर्षीय उनको कान्छो भाइ सुनिल चौधरी (बिचमा। अधिकांश नेपालीहरू जस्तै यी भाइहरू पनि बुढा आमाबुवालाई घरमा छाडेर विदेशमा मौसमी काम गर्न जान्छन्। याम कुमारी कंडेल, जिपिजे नेपाल
जेठा र कान्छा छोरा हरेक वर्ष धान रोप्ने सिजनमा दुई महिना घर फर्किन्छन्। धान रोप्ने काम सकेपछि उनीहरू हजुरआमा, श्रीमती, बालबच्चा र बुढा बुवाबाट बिदा भएर फेरि भारत काममा फर्कने गर्छन्। उनीहरूकी आमा सात वर्षअघि नै बितेकी थिइन्।
विजय चौधरी भन्छन्, “भारत जानुअघि बुवाले पैसा कमाएर धनगढीमा पक्की घर बनाउन भन्नुभएको थियो। हामीले कहिल्यै कल्पना गरेका थिएनौँ कि उहाँ यति छिट्टै जानुहुन्छ भनेर।”
तर बुवाको मृत्यु भएपछि सरकारले उनीहरूको मद्दतका लागि फ्रिजर उपलब्ध गराइदियो।
धनगढीका मेयर गोपाल हमाल भन्छन्, “म युवा पुस्तालाई विदेश जानबाट रोक्न सक्दिनँ। तर म मृत्युको समयमा परिवारलाई पुनः एकत्रित गर्ने प्रयास गरिरहेको छु”
अनुवाद नोट: जिपिजेका अनुप जोशीले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।
This story was originally published by Global Press Journal