वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका उद्यमी युवराज पुनको जीवन संघर्ष र उद्यमशीलताको यात्रा आशा, पीडा र आत्मनिर्भरताको उदाहरण हो।। घरको नाजुक आर्थिक अवस्थाका कारण कक्षा १० पछि पढाइ छाडेर बुटवलको धागो कारखानामा वेल्डरको काम थालेका युवराजलाई दुई वर्षपछि विदेशको मोहले तान्यो। उनी सम्झिन्छन्, "बाहिरबाट फर्किएकाहरूले सुन र डलर बोकेको देख्दा नेपालको जागिर केही होइन जस्तो लाग्यो।" यही सोचले उनलाई करिब ३० वर्षको वैदेशिक रोजगारीको यात्रामा डोऱ्यायो।
साउदीदेखि दुबईसम्मको कठोर यात्रा
विसं २०५० सालतिर साउदी अरबबाट सुरु भएको उनको विदेशी यात्रा कतार र दुबईसम्म पुग्यो। यो तीन दशकको अवधिमा उनले आफ्नो पेसा परिवर्तन गरेनन्; उनी सधैँ दुर्घटनाग्रस्त गाडीहरूको 'बडी रिपेयरिङ' र ग्यारेजको काममा खटिए। विदेशको जीवन सजिलो थिएन। उनले आफ्नो अनुभव सुनाए, "दैनिक १० देखि १२ घण्टा काम गर्नुपर्थ्यो। गर्मी र उकुसमुकुस भए पनि अर्काको देशमा 'गर्मी भयो' भन्नसमेत पाइएन।" सबैभन्दा ठूलो पीडा त सांस्कृतिक र धार्मिक भिन्नताका कारण चाडपर्वमा बिदा नपाउनु वा पाइए पनि तलब काटिनु थियो। उनी भन्छन्, "उनीहरूको धर्म-संस्कृति हामीले स्वीकार्नु पर्थ्यो, तर उनीहरूले हाम्रो स्वीकार्दैनथे।"
परोपकारी सक्रियता
विदेशमा आफ्नो व्यक्तिगत दुःखका बाबजुद युवराजले सामाजिक काममा सक्रियता देखाए। उनी साउदी अरबमा नेपाल मगर संघको दुई कार्यकाल अध्यक्ष रहे। साउदी अरबको कानुनअनुसार संगठनका कामहरू लुकिछिपी गर्नुपर्दा पनि उनले धेरै नेपालीहरूको जीवन रक्षाका लागि महत्त्वपूर्ण 'बचाउ अभियान' चलाए। "डेढ करोड रुपैयाँसम्मको ब्लड मनी तिरेर धेरैको ज्यान जोगिएको घटना सम्झना छ," युवराजले भने।
वैदेशिक रोजगारीमा जाने महिलाको अवस्थाले उनलाई गहिरो चिन्ता लाग्ने गरेको छ। धेरैजसो महिलाहरू हाउस मेडका रूपमा विदेश जाने गरेका छन्। नियत ठीक भएका मालिक परेमा समस्या नहुने भए पनि खराब मालिक परेमा महिलाहरूले गम्भीर दुःख भोग्नुपरेको छ। कतिपय मालिकहरूले महिलाप्रति नकारात्मक दृष्टिकोण राख्ने गरेका छन्। पीडित महिलाहरूलाई उद्धार गर्ने काम पनि युवराजको सक्रियतामा हुँदै आएको छ।
महामारीको डरलाग्दो अनुभव
दुबईमा काम गरिरहेका बेला कोरोना महामारी सुरु भयो। बन्दबन्दीले जीवनमा ठूलो तनाव ल्यायो। "कोठाबाट बाहिर निस्कन पनि नपाइने अवस्था भयो। अरू कसैले दिएको खानेकुरा खाँदा कोरोना सर्ला कि भन्ने डर। आफूले अरू कसैलाई छुँदा कोरोना सर्ला कि भन्ने डर। एक-अर्कालाई हेर्दा मृत्युको स्वरूप जस्तो देखिन थाल्यो। सास फेर्न पनि गाह्रो भयो," उनले त्यो बेलाको भयानक त्रास सम्झिए। मास्कको एउटा डोरी चुँडिँदा पनि टाँसेर, धोएर महिनौँसम्म प्रयोग गर्नुपरेको बाध्यता उनले भोगे।
घरबार बिग्रिएको पीडा
विदेशमा दुःख गरेर कमाएको पैसाले पनि परिवारमा खुशी नआएको देखेपछि उनको विदेशप्रतिको मोह क्रमशः टुट्यो। उनले देखे, कतिको घरबार बिग्रियो, कतिका छोराछोरी दुर्व्यसनी भए। पसिनाको कमाइको परिवारले सही सदुपयोग नगरेको देख्दा उनलाई झन् पीडा भयो। अन्ततः तालिम पूरा गरेपछि उनी दुबई छोडेर नेपाल फर्किए।
'नेपालको माटोमा सुन फल्छ'
युवराजलाई लाग्छ, नेपालको माटोमा सुन फल्छ र यहीँ स्व-रोजगार बन्न सकिन्छ। उनले घरमा कुखुरा र बाख्रा पाल्न थाले। तर, पशुहरू बिरामी हुँदा पशु चिकित्सकलाई फोन गर्दा "म अहिले आउन सक्दिनँ" भन्ने जवाफले उनलाई झस्कायो। पशुले उपचार नपाउँदा मरेको देखेपछि उनले आफैँ पशु उपचार सिक्ने निधो गरे। संयोगले उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यूएनडीपी को सहयोगमा सञ्चालित सामुदायिक पशुविकास सहायक (Community Livestock Development Assistant) को निःशुल्क तालिमको सूचना पाए। कडा प्रतिस्पर्धामा उनी छनोट भए र तालिमपछि अहिले उनी आफ्नो टोल-छिमेकमा समेत बिरामी बाख्रालाई उपचार गर्ने र समयमा खोप दिने सेवा दिइरहेका छन्। हालै उनले प्रशिक्षकको उपस्थितिमा ९३ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाए। अहिले उनी सुरक्षित आप्रवासन परियोजना अन्तर्गतको आप्रवासी परिवार हकहित मञ्च, सुनवल सँग आबद्ध भएर विदेश जानेहरूलाई सुरक्षित र कानुनी बाटो अपनाएर मात्र जानुपर्ने वकालत गरिरहेका छन्।

नयाँ पुस्तालाई नयाँ बाटो
५० वर्षीय युवराजको अन्तिम लक्ष्य अब स्पष्ट छ: आफ्ना छोराछोरीलाई डलरको पछि लाग्नबाट रोक्नु। "अब बिस्तारै छोरालाई पनि बोलाउँछु। अब एग्रोभेटको पसल चलाउँछु र व्यवस्थित बाख्रापालन गर्छु। छोराहरूलाई जीविकोपार्जनको यही कुरा सिकाउँछु," उनी भन्छन्। दुई करोड रुपैयाँ खर्च गरे पनि 'कति कमाए, कति खर्च भयो' भन्ने हिसाब राख्न नसकेका युवराजले २० जनाको सहकार्यमा 'रिटर्नी हातेमालो सहकारी संस्था' समेत स्थापना गरेका छन्। विदेशको कठोर अनुभवलाई शक्तिमा बदल्दै युवराज अहिले स्वदेशमै स्वाभिमानी जीवन बिताइरहेका छन्।
(यो कथा मूलतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रकाशित "वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुको कथाहरू" मा प्रकाशित भएको हो।)